छुट सुविधा नदिने अस्पताल बन्द गराउने बालेनको चेतावनी

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पतालको सूची बुझाएका छन् ।

मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर सूची बुझाउँदै कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको उनले बताएका छन् । उनले विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा ध्यानाकर्षण गराएको बताए ।

कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै मेयर बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसी दिइएको उल्लेख गरेका छन् । उनले छुट सुविधा नदिने अस्पताल बन्द गराउने चेतावनी दिएका छन् ।

 

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट मिति २०८०।०२।०६ गते सार्वजनिक सूचना जारी भैसकेको छ । नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ ।

यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ ।