अव पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न आयोगले कार्यविधिको मस्यौदा बनायो

निर्वाचन आयोगले अव पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले कार्यविधिको मस्यौदा तयार पारेको छ । मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचमा पुर्‍याउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न पालिकाबाट नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने प्रयोजनका लागि कार्यविधिको मस्यौदा तयार भएको आयोगले जनाएको छ । मस्यौदामा सरोकारवालाहरूको सुझाव सङ्कलनका लागि आयोगको वेबसाइटमा अपलोड पनि गरिएको जानकारी दिइएको छ ।

मस्यौदामा कुनै पालिकाले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा पालिकाको भौतिक स्रोत साधन र जनशक्तिको अवस्था हेरी आयोगले अनुमति दिने व्यवस्था गरिएको जनाइएको छ । यसरी अनुमति प्राप्त गरेपछि सम्बन्धित पालिकाको केन्द्र वा वडास्तरमै नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोकी मतदाता नामावली दर्ता कार्य प्रारम्भ हुनेछ । दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था रहेको छ ।

निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था भएअनुसार मस्यौदा तयार गरेको आयोगको भनाइ छ ।