नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बङ्गलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा आज नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मोहम्मद रेजुल करिम र एनभीभीएनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारंगले हस्ताक्षर गर्नुभएको छ । भारतको प्रसारण लाइन हुँदै नेपालको बिजुली बङ्गलादेश पुग्ने भएकाले सम्झौतामा भारत पनि सामेल भएको हो ।

अब नेपालबाट तत्कालका लागि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने बाटो औपचारिक रूपमा खुलेको छ । गएको जुन महिनामै विद्युत् खरिद बिक्रीको सम्झौता गर्ने तयारी रहेकोमा बङ्गलादेशमा सरकारविरुद्ध भएको आन्दोलनपछि प्रधानमन्त्रीले नै देश छाड्नेसम्मको अवस्था आएपछि रोकिएको थियो । तर अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएपछि सम्झौता भएको हो ।

अब नेपालले प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले बिजुली बेच्नेछ । बङ्गलादेशमा बिजुली निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको 'ह्विलिङ चार्ज' बङ्गलादेशी कम्पनीले नै तिर्नेछ ।

नेपाल र बङ्गलादेशबीच ५ वर्षसम्म बिजुली निर्यातका लागि सम्झौता भएको हो । यो सम्झौताअनुसार हरेक वर्ष १४ करोड ४० लाख युनिट बिजुली बङ्गलादेश निर्यात हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।

नेपालले तीन वर्षदेखि भारतलाई बिजुली बेचिरहेकोमा आज बङ्गलादेशलाई पनि बेच्ने सहमतिपत्रमा हस्ताक्षर हुनुलाई विज्ञहरूले ठूलो उपलब्धि भनेका छन् ।