सन् २०२४ को पहिलो उल्का वर्षा आज र भोली हुँदैछ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गतेको रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ ।
“ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ,” भट्टराईले भनेका छन् ।
भूतप उल्का वर्षा स्थानीय समयअनुसार पुस १९ गते दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि भोलिपल्ट अर्थात् पुस २० गतेको सूर्याेदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको भनिन्छ ।