अख्तियारद्धारा नक्कली प्रमाणपत्र पेश गरी बढुवा भएको आरोपमा नेपाल वायुसेवा निगमका पाईलट सम्राट बहादुर शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल वायुसेवा निगमका विमान चालक  सम्राट बहादुर शाहको शैक्षिक प्रमाण पत्र नक्कली भेटिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्ति भई आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिल अन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुर बाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको भन्दै झुट्टा प्रमाणपत्र पेस गरेको जनाइएको छ । 

आयोगमा उजुरी परेपछि छानबिन गर्दा शाहीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी प्रवक्ता नरहरि घिमिरेले दिए । उनका अनुसार शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजायको मागदावी लिइएको छ ।