रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।   यस्तै अख्तियारले  प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको छ ।

सोही नगरपालिकाको वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका लागि रकम बिनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । यससम्बन्धमा अनुसन्धान हुँदा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिई–दिई भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएसँगै बिशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

अख्तियारले मेयर अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पन्चानब्बे पैसा  कायम गरी कैद र बिगो बमोजिम जरिबानाको मागदाबी लिएको छ। यस्तै प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र इन्जिनियर राजेश कुमार साहविरुद्ध पनि त्यही नै कैद र बिगो बमोजिमको जरिवाना मागदाबी लिइएको छ ।