जापान पठाइदिन्छु भन्दै ३५ लाख ५० हजार रूपैयाँ ठगी गर्ने एक जना पक्राउ

विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै ३५ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा मकवानपुर निबुवाटार गाउँपालिका-४ घर भई ललितपुर सानेपा बस्ने ३७ वर्षीय पुरूषोत्तम अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

​अधिकारीले ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बिजुलीबजारबाट पक्राउ गरेको हो। ​उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।