६० किलो सुन तस्करी: ५६ करोड बढी बिगो दाबीको रायसहित प्रतिवेदन बुझाउँदै सीआईबी

काठमाडौं– मोटरसाइकलको ब्रेक प्याड (ब्रेक शु)को रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको अवस्थामा बरामद भएको ६० किलो बढी सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेर आज (बुधबार) जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

सीआईबी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार सुन प्रकरणको छानबिन प्रतिवेदन मंगलबार नै लेखेर सकिएको छ। सीआईबीले आरोपीहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाउन राय दिने तयारी गरेको छ। 

सीआईबीले पक्राउ परेकाहरुविरुद्ध संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ। संगठित अपराधको कसुरमा अनुसन्धानका लागि ६० दिनसम्म हिरासतमा राख्न पाइन्छ। आरोपीहरु पक्राउ परेको यही भदौ ३१ गते ६० दिन पुग्छ। 

मुद्दा अदालतमा टेकाउनु अगाडि सरकारी वकिललाई मिसिल अध्ययनका लागि ३ दिन समय पुग्ने गरी सीआईबीले बुधबार प्रतिवेदन बुझाउने तयारी गरेको हो। 

राजस्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेट बाहिरबाट तस्करीको सुन बोकेको ट्याक्सीलाई नियन्त्रणमा लिएको थियो। तस्करहरुले मोटरसाइकल र स्कुटरको डिस्क ब्रेकको प्याडका रुपमा सुन भित्र्याएका थिए। 

सुरुमा राजस्व अनुसन्धान विभागले नै उक्त प्रकरणको अनुसन्धान गरेपनि पछि प्रहाधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीआईबीलाई अनुसन्धानको जिम्मा दिन भनेका थिए। सीआईबीले करिब ४० दिन लगाएर अनुसन्धान गरेको हो। सुन तस्करी प्रकरणमा हालसम्म ३१ जना पक्राउ परेकामा १ जनालाई स्वास्थ्यका कारण हिरासत बाहिर रहेका छन्। ३० जना भने प्रहरी हिरासतमा छन्। 

आरोपीविरुद्ध सुनको मूल्य बराबर बिगो दाबी गर्ने सीआईबीको प्रमुख राय छ। ६० किलो ७१६ ग्राम सुनको बजार मूल्य ५६ करोडभन्दा बढी पर्ने देखिएको छ। जसअनुसार सीआईबीले ३० जनाविरुद्ध जनही ५६ करोड रुपैयाँ बढी बिगो र सोहीअनुसार जरिवाना दाबी गर्न सिफारिस गर्ने निष्कर्ष निकालेको छ।