भेपमा सुन तस्करी प्रकरणको भन्सार नासुलाई छुटाउने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ

भेपमा लुकाएर तस्करी गरी ल्याएको नौ किलो सुन चोरी गरेको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी नवराज अधिकारीले बताए। भोजपुर घर भई नागार्जुन नगरपालिका-१ रानीवन बस्ने २६ वर्षीय रितु राई र बर्दिया घर भई रानीवन बस्ने २१ वर्षीय निरेश चौधरी पक्राउ परेका छन्।

उनीहरूले पुर्पक्षको लागि जगन्नाथदेवल थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिने बताएका थिए।रेवन्तलाई छुटाइदिन्छु भन्दै उनका बुवा अमरबहादुरबाट पटक-पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ लिएको आरोप छ। यसरी पैसा लिएर ठगी गरेको उजुरीपछि ब्युरोले सोमबार दुई जनालाई पक्राउ गरेको हो। राई र चौधरीमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ।