नेपाल बैंकका तत्कालीन डिल्लीबजार शाखाका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार कसुर ठहर गरेको हो।

कोइरालाको मुद्दामा कसुर ठहर भएको र सजाय निर्धारणका लागि पुस ११ मा इजलासमा पेस गर्ने आदेश भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकमा कार्यरत कोइरालालाई बैङ्कको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै २०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो।

नेपाल बैंक लिमिटेडको काठमाडौंको बैंकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहेका कोइरालाले बैंकिङ सिस्टमअन्तर्गत व्यक्तिगत दिइएको अरु कसैले प्रयोग गर्न नमिल्ने टेलर आइडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेको भेटिएको थियो। त्यसमार्फत् उनले ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न खातामा जम्मा गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी थियो।

अख्तियारले कोइरालालाई ५४ लाख ८४ हजार ४५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम रकम असुलको माग दाबी गरेको थियो। अदालतले कति बिगो र कति समय सजाय निर्धारण गर्ने भन्ने पुस ११ मा निर्क्योल हुनेछ। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन अनुसार भ्रष्टाचारमा दोषी ठहर भइसकेपछि मात्रै कसुर ठहर भएपछि सजाय निर्धारणका लागि पेस गर्ने व्यवस्था छ।