ललिता निवास प्रकरणमा तीन जना पूर्वमन्त्रीलाई सफाइ, दुई पूर्वसचिवलाई सजाय

बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा आरोपित पूर्व मन्त्रीहरू विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशीलाई विशेष अदालतले सफाइ दिएको छ।

विशेष अदालत प्रवक्ता धनबहादुर कार्कीले दुई जना पूर्वसचिव र केही कर्मचारीसहित जग्गा बिक्रीमा संलग्न केही व्यक्तिहरूलाई दुई वर्षसम्म कैद र जरिवानाको फैसला भएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीवार निर्णय सुनाएको हो।

यसअघि आयोगले ललिता निवासको जग्गा व्यक्तिगत नाममा दर्ताको प्रक्रियामा तात्कालिक भौतिक योजनामन्त्री विजयकुमार गच्छदार तथा तात्कालिक भूमिसुधारमन्त्रीहरू डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशी समेत संलग्न भएको आरोप दाबी गर्दै कैद र जरिवानाको सजाय माग गरेको थियो।

अदालतले जग्जा खरिद बिक्रीमा संलग्न भएको आरोप लागेका भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत रहेका मीन बहादुर गुरुङ र बिचौलियाको आरोप लागेका रामप्रसाद सुवेदी र शोभाकान्त ढकाललाई पनि दुई वर्ष कैद र जरिवानाको सजाय हुने फैसला गरेको छ।