नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक र नासुसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित ५ जनाविरूद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको हो । गत फागुन ९ गते २ लाख ५० हजार घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको ती पाँचै जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

अख्तियारले नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदिप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जाराविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गाको कित्ताकाट र नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पाँच जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्धा चलाएको हो ।

अख्तियारले सर्वेक्षक यादवविरुद्ध २ लाख ५० हजार, बिचौलिया अधिकारीविरूद्ध १ लाख ५० हजार, मालपोतका नायव सुब्बा पौडेलविरुद्ध १ लाख रुपैयाँ तथा लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढी काम गर्ने दिनेश बन्जाराविरूद्ध १ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो ।

जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५जनाविरूद्ध मुद्धा दायर गरेको हो । उनीहरुले आपसी मिलोमतोमा २ लाख ५० हजार रुपैयाँ बराबरको घुस लिएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।