नौ करोड अकुत सम्पत्ति मुद्दामा प्रमाण नपुगेको भन्दै मालपोत कार्यालय चाबहिलका तत्कालीन कार्यालय सहयोगीलाई सफाइ

करिब नौ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका मालपोत कार्यालयका कार्यालय सहयोगीलाई विशेष अदालतले सफाइ दिएको छ । मालपोत कार्यालय चाबहिलका तत्कालीन कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई आइतबार विशेष अदालतले सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको भनी चार वर्षअघि उनीविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा विशेष प्रमाण नपुगेको दाबी गर्दै बस्नेतलाई अदालतले सफाइ दिएको हो । बस्नेत १९ कात्तिक ०४५ मा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । 

०७५ असारसम्मको उनको सम्पत्तिको अख्तियारले विश्लेषण गरेको थियो । उनले श्रीमती सीता बस्नेतको नाममा ६ करोड ७४ लाखबराबरको घरजग्गा खरिद गरेका थिए । आमा टुकुकुमारी बस्नेतको नाममा रहेको जग्गामा घर बनाएको खुलेको थियो । 

ऋण तिर्न ३९ लाख ७६ हजार, गाडी खरिदमा ३७ लाख ३१ हजार तथा बिमामा पाँच लाख ७० हजार खर्च गरेका थिए । साथै, उनीसँग स्रोत नखुलेको ११ लाख पनि अख्तियारले बरामद गरेको थियो । 

भतिजी कृपा बस्नेतलाई एक करोड लगानी गरेको दाबीसहित आयोगले आमा, श्रीमती र भतिजीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिएको हो । 

चाबहिल मालपोत कार्यालयमा लामो समय काम गरेका बस्नेतलाई अख्तियारले त्यसवेला पक्राउ गरी सुरुमा राजस्व हिनामिनाको मुद्दा दायर गरेको थियो । थप अनुसन्धानका क्रममा उनीसँग अकुत सम्पत्ति भेटिएको अख्तियारको दाबी थियो ।