कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार दिउँसो उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । 

“हामीले कार्यालयबाटै उहाँलाई नियन्त्रणमा लिएका हौँ, अहिले जिल्ला अस्पताल पर्वतमा मेडिकलका लागि ल्याएका छौँ ।” पर्वतका डीएसपी खुमलाल भुसालले भने । पराजुली कास्कीमा हुँदा सहकारी प्रकरणमा मुछिएका थिए । मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा घुस लिएको आरोप छ ।

कास्की प्रहरीकै अनुरोधमा पर्वत प्रहरीले उनलाई पक्राउ गरेर कास्की पठाउन लागेको हो । पक्राउ पूर्जी जारी भएयता उनी केही समय फरार थिए । स्रोतका अनुसार आफूविरुद्ध पक्राउ पूर्जी जारी हुने संकेत पाउनासाथ प्रमुख प्रशासकीय अधिकृत पराजुली बिदामा बसेका थिए । जिल्ला अदालत कास्कीले पक्राउ गर्न अनुमति दिएपछि कास्की प्रहरीले पर्वत प्रहरीलाई पत्र लेख्दै पराजुलीलाई उपस्थित गराउन समन्वय गर्न भनेको थियो । बिदा लिएर काठमाडौं गएका पराजुली त्यहाँ नरहेको भन्दै पर्वत प्रहरीले जवाफ पठाएको थियो ।

उनी सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा तत्कालीन समयमा रजिस्ट्रार थिए । कार्यक्षेत्र विस्तारको विषयलाई लिएर उनले करोडौँ रकम घुस लिएको आरोप छ । मित्रमिलन सहकारीले कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेशभरी फैलिने योजना बनाएको थियो । त्यसकै लागि तत्कालीन रजिस्ट्रार पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । 

रकम लिएर पनि काम नभएपछि रुष्ट बनेका सञ्चालकले नै प्रहरीलाई भिडियो प्रमाण उपलब्ध गराएका थिए । प्रहरी स्रोतका अनुसार त्यसकै आधारमा सहकारी प्रकरणमा उनको पनि संलग्नता रहेको खुलेको हो । सहकारी संघसंस्थाको दर्ता, नवीकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकार रजिस्ट्रारलाई हुन्छ । त्यही अधिकार दुरुपयोग गरी उनले रकम लिएका थिए । हाल हिरासतमा रहेका सहकारीका अध्यक्ष रमण पौडेलले एक पत्रमा पनि उक्त विषय उठान गरेका थिए ।

पत्रमा सहकारीको प्रदेशभरी सेवा केन्द्र र कार्य क्षेत्र बनाउनका लागि रजिस्ट्रारलाई घुस खुवाउन भनी ‘अभिषेक काफ्ले (खुमानन्द) र  सञ्जय दाइमार्फत एक करोड २० लाख रुपैयाँ नगद मै रजिस्ट्रार उदयबहादुर पराजुलीलाई दिएको’ उल्लेख छ ।पराजुलीले पछि दुई पटकमा २० लाख र दुई लाख गरी २२ लाख रुपैयाँ फिर्ता गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।