जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने भन्दै सेवाग्राहीसँग घुस लिने अमिन घुससहित पक्राउ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का नापी कार्यालयका एक अमिनलाई चार हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको छ । नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई प्रहरीले पक्राउ गरेको हो । उनले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत लिएका थिए ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, घुस मागेको सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट समातिएका हुन् । घुसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।