अदालतमा बयान फेर्ने जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० का खीलेन्द्र सिंह जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खीलेन्द्रले घुससम्बन्धी मुद्दामा अदालतमा गई बयान फेरेका कारण उनीविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार अख्तियारले मुद्दा दायर गरेको हो । 

दायर गरिएको मुद्दामा अख्तियारले खीलेन्द्रसँग १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ । वादी नेपाल सरकार प्रतिवादी रुपन्देहीको बुटवलस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा खीलेन्द्रलाई साक्षीको रूपमा पेस गरिएको थियो । 

उनले अख्तियारका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी विशेष अदालत काठमाडौंसमक्ष वकपत्र गरेपछि उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।