पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआइजी तथा साहित्यकार  महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाह लगायत दुई जनालाई बुधबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

२०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा ४ वर्षअघि भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

यस प्रकरणमा लेखापाल एवम् पूर्व प्रहरी नायव निरीक्षक दिपेन्द्र प्रसाद पनेरुलाई पनि विशेष अदालले दोषी ठहर गरेको  छ। आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् ।  यससँगै विशेषले अब उनीहरूविरुद्धको सजाय निर्धारणका लागि पेश गर्न पनि आदेश दिएको छ।

२०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना आरोपपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो ।अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।