माथिल्लो त्रिशूली–१ आयोजनाको डाइभर्सन सुरुङको निर्माण सम्पन्न

काठमाडौँँ - प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन बनाइएको डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारदेखि सोही सुरुङबाट नदी फर्काइ बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताएका छन् । ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पुरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ’, उनले भने ।