आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज मे १ तारिख, एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।

विश्व भरका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो । आज सार्वजनिक बिदा छ । दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरी श्रम गर्ने वातावरणसँगै रोजगारी र उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् ।