कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

काठमाडौँ - कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख  परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

यसअघि सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण उनी मुख्यमन्त्रीबाट बर्खास्त भएका थिए । तर, आज सभामुख बनेका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाएर  उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।  कूल ९३ सदस्यमा बहुमत पुर्याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता  पर्छ । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको छ । 

उक्त प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका चार र जसपा नेपालका एक सांसद छन् । गठबन्धन इतरतर्फ नेकपा एमालेका ४० र राप्रपाका छ जना सांसद एक ठाउँमा देखिएका छन् ।