पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो, डिजेलको दुई रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएको छ ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ६.९७ रुपैयाँ बढेर आए पनि अहिलेलाई यथावत् राखिएको छ ।