सर्बिया र माल्टा पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँभन्दा धेरै ठग्ने दुई जना पक्राउ

विभिन्न व्यक्तिहरुलाई सर्बिया पठाइदिन्छु भन्दै तीन जनालाई १७ लाख १७ हजार रुपैयाँ ठग्ने बाराको जितपुर सिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा पक्राउ परेका छन् ।

उनले बलबहादुर थापा मगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि  सर्बिया पठाइदिन्छु  भन्दै प्रतिव्यक्ति  ८ लाख रुपैयाँका दरले रकम मागेका थिए । तर १७ लाख १७ हजार रुपैयाँ लिएपछि बास्कोटा फरार भएका थिए । उनले मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै लोभ्याएर रकम ठगेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फरार भएका उनलाई इलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरी हिजो पक्राउ गरिएको कार्यालयले जनाएको छ । यस्तै, माल्टा पठाइदिन्छु भन्दै दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ उठाएर फरार भएकी धादिङ त्रिपुरा सुन्दरीकी लक्ष्मी श्रेष्ठ पनि पक्राउ परेकी छिन् ।

माल्टामा मासिक एक लाख रुपैयाँ तलब हुने र त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ भनेर लक्ष्मीले दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ लिएर फरार भएकी थिइन्। उनलाई हिजो बाफलबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।