धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना भएको छ । सो प्रकरणमा संलग्न भएको अभियोगमा २६२ जनाविरुद्ध बिहीबार सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । बराह अहिलेसम्मकै दोस्रो ठुलो सहकारी ठगी प्रकरण मानिएको छ ।
मुख्य प्रतिवादी सहकारीका सञ्चालक शिवकुमार विश्वकर्मा लामिछानेविरुद्ध पाँच अर्ब ८८ करोड ४० लाख रुपैयाँ बिगो कायम गरिएको छ । अनुसन्धानमा उनले सहकारीको रकम विभिन्न कम्पनीमा लगानी गरी खर्चेको खुल्न आएको छ । कतिपय रकम उनले आवश्यक प्रक्रिया पूरा गरेर लगानी गरे पनि कतिपय विनाधितो लिएको पाइएको छ । प्रहरीले अनुसन्धान सुरु गरेलगत्तै सम्पत्ति बिक्री गरी उनी फरार भएका थिए र हालसम्म पक्राउ परेका छैनन् ।
त्यस्तै, मन्दिरा विश्वकर्मा लामिछानेविरुद्ध एक अर्ब २३ करोड ११ लाख, मानबहादुर विश्वकर्माविरुद्ध एक अर्ब ११ करोड ८१ हजार, प्रकाश लामगादेविरुद्ध ४८ करोड १८ लाख ८९ हजार तथा हरिकुमार धमला विश्वकर्माविरुद्ध ३७ करोड ६१ लाख २४ हजार बिगो कायम गरी मुद्दा दायर भएको छ । ठगीका मुख्य योजनाकारमध्ये अर्की मन्दिरा लामिछाने विश्वकर्मा पनि फरार रहेकी छिन् । यसबाहेक शुभराज खातीविरुद्ध ४४ करोड २४ लाख १३ हजार, सुरेश विकविरुद्ध ३४ करोड ४० लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
सहकारीमा सामान्य भूमिका भएका व्यक्तिलाई भने थुनामै राखेर अनुसन्धान गरिएको थियो । प्रहरीले रविकुमार सुनार, सुदिन विक, रिना राई लामिछाने, विष्णुकुमारी तुलाधर, फूलमाया राई, अस्मिता भण्डारी, श्रीमान महत, सरिता कालिकोटे, इन्द्रबहादुर विश्वकर्मालगायतलाई पक्राउ गरी अनुसन्धान गरेको हो । प्रहरीले सहकारी ठगीका साथै संगठित अपराध मुद्दा पनि चलाएको छ । तर, सम्पत्ति शुद्धीकरणतर्फ भने अनुसन्धान हुन सकेको छैन । शिवशिखर सहकारीबाट सर्वसाधरणको करिब १२ अर्ब हिनामिना भएको छ ।