वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएका ३९ वर्षीय सम्पूर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका- ३ बस्ने काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौँ महानगरपालिका–३ बस्ने पाल्पा रम्भा गाउँपालिका–५ घर भएका ५८ वर्षीय सिरबहादुर बराल र काठमाडौँ तार्केश्वर नगरपालिका– ४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् ।
पक्राउमध्ये सम्पूर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रुपैयाँ, सुजनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रुपैयाँ, सिरबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ र सरस्वतीले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पूर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट मङ्गलवार, सुजनलाई काठमाडौँ महानगरपालिका–३१ बाट बुधवार तथा सिरबहादुर र सरस्वतीलाई काठमाडौँ महानगरपालिका–१२ बाट बुधवार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।