आज पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिम भेगका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यसको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।