पशुपतिनाथमा अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन हुने, भारतबाट १५ हजार भक्तजन आउँदै 

काठमाडौँ - श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपालले जेठ २७ गते पाशुपत क्षेत्रको हंसमण्डपमा श्री अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिने भएको छ । उक्त दिन बिहान गुह्येश्वरी र पशुपतिनाथको परिक्रमा र पूजाआजापछि लिंगार्चन र सहस्रनाम पाठ गर्ने कार्यक्रम छ । १४ हजार ६ सय ४१ जनाले एकै दिन अतिरुद्री पाठ गर्ने आयोजकको भनाइ छ ।

विकास मार्गले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । संस्थाका संरक्षक अमर पन्तले दिएको जानकारी अनुसार अष्टसिद्धिपीठ श्री स्वामी समर्थ गुरुपीठ त्रयम्बकेश्वर, नासिकका पिठाधिश परमपूज्य गुरुमाउली श्री अण्णासाहेब मोरेको उक्त दिन मुख्य प्रवचन हुनेछ । मोरेले सम्पूर्ण नेपालीको सुख, शान्ति, ऐश्वर्य नेपाल राष्ट्रको समुन्नति श्रीवृद्धि र विश्व शान्तिको संकल्प गर्नेछन् । हंसमण्डपमा यस किसिमको श्री अतिरुद्रात्मक स्थान लिङ्गार्चन तथा श्री ललिता सहस्रनाम पाठ महोत्सव पहिलो भएको उनको भनाइ छ । नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको यो अनुष्ठानमा सहभागी हुन चाहने श्रद्धालु भक्तजनहरूलाई प्रवेश निःशुल्क गरिएको छ ।

संस्थाका अध्यक्ष अभिराज आचार्यका अनुसार भारतका विभिन्न स्थानलगायत विश्वभरबाट १५ हजार श्रद्धालु भक्तजनको उपस्थिति हुनेछ । उक्त विशेष कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि हुनेछन् । आचार्यले भने, ‘सम्पूर्ण प्राणी जगत्को उद्धार एवं कल्याणार्थ श्री गुरुदत्तात्रय महाराजले स्वामी समर्थ महाराजको रूपमा प्रकट भई दिंडोरी प्रणित सेवामार्ग स्थापना गरेका हुन् ।  

उहाँ विभिन्न रूपमा सनातन कालदेखि यस धर्र्तीमा प्रकट भई कार्यरत छन् ।  उनका अनुसार, पछिल्लो समयमा श्री स्वामी समर्थ ई।सं। १८५६ मा प्रकट भई नेपाल, भारत, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्याण्डसम्म भ्रमण गरेका छन् । उनले थपे, ‘उहाँ नै सिरडीका साइबाबा शेगाउँका भी गजानन महाराज, हुम्नाबादका माणिक प्रभुजस्ता सन्तका गुरुको मानिनु हुन्छ ।’ उक्त संस्थाले ७० वर्षदेखि  १८ विभाग स्थापना गरी विश्वभर ७ हजारभन्दा केन्द्रद्वारा मानव सेवा एवं कल्याणका कार्य गर्दै आएको छ ।

गुरु माउलीबाट जीवन उपयोगी आध्यात्मिक मार्गदर्शन एवं आशिर्वाद प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । लोककल्याण, राष्ट्रहित र युवाको उत्थानमा केन्द्रित यस अनुष्ठानले विश्व शान्ति, सकारात्मक उर्जा सिर्जना गर्नुका साथै दैविक विपत्तिलाई निराकरण गर्ने विश्वास संस्थाले लिएको छ ।