अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते

 बुटवल - अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका(१ पणेनाको गोवनपानीमा गंगा रास्कोटीको घर पुरिँदा उनका तीन जना नातिनातिनाको मृत्यु भएको वडा अध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया अञ्जना रास्कोटीको रहेका छन् ।

घटनामा १४ वर्षीय सचिन रास्कोटी सामान्य घाइते भएका छन् । मृत्यु हुने बालबालिका दाजुभाईका छोराछोरी हुन् । मंगलवार बिहान साढे ६ बजेको समयमा अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले टिनको छाना भएको दुई तले घरको कुनापट्टिको आधा भाग भत्किएको थियो। बिहानको समयमा बालबालिका सुतिरहेको अवस्थामा पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।