यो वर्षको वर्षायाममा देशभर खाद्यान्न अभाव नहुने 

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात छ । अतिदुर्गम तथा दुर्गम जिल्लामा २५ हजार पाँच सय पाँच क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ ।

प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ । हाल २६ हजार तीन सय ७५ क्विन्टल धान मौज्दात छ ।

भारतबाट आयात कोटाअन्तर्गत साल्ट ट्रेडिङमार्फत ३४ हजार तीन सय २० क्विन्टल गहुँ तत्काल प्राप्त हुनेछ । कम्पनीसँग कूल दुई लाख ६६ हजार तीन सय क्विन्टल खाद्यान्न मौज्दात रहनेछ ।