सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्षको कैद सजायको फैसला भएको छ । मोरङ अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको बिहीबारको इजालाले शर्मालाई ६७ करोड ५९ लाख जरिवाना, सोही बरावरको बिगो तिर्नुपर्ने र राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८ सय ५० रुपैयाँ तिर्नुपर्ने फैसला भएको हो ।
सहकारीको सचिव सविना न्यौपाने र प्रबन्धक सन्दिप खवासलाई जनही २ वर्ष २ महिना कैद सजायको फैसला भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । खवासलाई २७ लाख बिगो र २७ लाख नै जरिबानाको फैसला भएको छ । उनले पीडित राहत कोषमा उनले १ लाख ८ हजार जम्मा गर्नुपर्ने फैसला भएको छ । सहकारीको सचिव न्यौपानेको हकमा भने बिगो र जरिबाना तोकिएको छैन । पीडित राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्नुपर्ने अदालतको फैसला छ ।
३ वर्षभन्दा माथि कैद सजायको माग दाबी गरिएको मुद्दामा कसुर कायम भएको १ महिनाभित्रमा सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार बिहीबार सजाय निर्धारण भएको हो । यसअघि न्यौपाने र क्षेत्रीय प्रबन्धक खवासलाई गएको आइतबार दोषी ठहर गरेको थियो ।अदालतले सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई भने सफाइ दिएको थियो । फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुल्तबीमा राखिएको छ ।
सहकारीका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसुरमा मुद्दा दायर गरिएको थियो । अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास मुद्दाको पुर्पक्षका लागि थुनामा थिए । विराटनगरमा केन्द्रीय कार्यालय भएको यो सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा स्थापना गरेर बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ ।
विराटनगर महानगरपालिका २ मा मुख्य कार्यालय रहेको सहकारीको देशैभरी सदस्य सङ्ख्या २१ हजार ७१३ रहेको र त्यसमध्ये विराटनगरमा मात्रै चार हजार बढी रहेका छन् । २०५२ सालमा स्थापना भएको उक्त सहकारीको कार्यालय भने २०७९ साल फागुनदेखि बन्द रहेको छ । सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभन दिने गरेको थियो । तुलसी सहकारी विराटनगरको ठुलो सहकारी हो । विराटनगरका बचतकर्ताबाट मात्रै झन्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरू बताउँछन् ।
शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको स्रेस्तामा नै नचढाई हिनामिना गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अदालतमा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ ।
उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिमाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको थियो ।