आयरल्याण्डसँग नेपाल पराजित

 काठमाडौँ - जिम्बाब्वेमा जारी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । राजधानी हारारेको ताकासिंगा स्पोर्टस क्लवमा भएको खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको हो । योसँगै नेपाल १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोट यात्रा समाप्त गरेको छ ।

नेपालले दिएको २६९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ४९.२ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । आयरल्याण्डका कर्टिस क्यामपरले सर्वाधिक ६२ रन बनाए । उनले ५९ बलमा ८ चौका र १ छक्का प्रहार गरे । यस्तै ह्यारी टेक्टरले ६० रन बनाउँदा जर्ज डकरेले ३३ तथा लोर्कन टकरले २४ रन बनाए । नेपालका करन केसीले १० ओभर बलिङ गर्दै ५८ रन दिएर ४ विकेट लिए । किशोर महतोले २ तथा गुल्शन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनायो । नेपालका लागि गुलशन झाले सर्वाधिक ५७ रन बनाए । अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९, भीम सार्कीले २० रन बनाए । आयरल्याण्डका लागि मार्क अडेर, बेरी म्याकार्थी र क्राइग योंगले समान २–२ विकेट लिए । यस्तै कर्टिस क्याम्फेर, ग्यारेथ डेलानी र एण्डी म्याकब्रिनले समान १–१ विकेट लिए ।