पोल्ट्री व्यावसायी कँडेलको आत्महत्या प्रकरण : रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

चितवन - पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ । बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् भने भित्री सडकमा साना सवारी साधान र मोटरसाइकल चलेका छन् ।

शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । बन्दकर्ता आफूहरू मोटरसाइकलमा हिँडेका विभिन्न ठाँउमा पुगेर बन्द गराइरहेका छन् । पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् । पुल्चोकमा बन्दकर्ताले अवरोध सिर्जना गरेपछि अत्यावश्यक बाहेकका सवारी साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।