छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

काठमाडाैं - काठमाडौं महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ।

महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताएका छन्।

महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो। साथै छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति एवं स्वीकृति समेत रद्द गर्ने चेतावनी दिएको छ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गर्नुपर्ने छ।”