खोटाङका तत्कालीन जिशिअ ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँगै तत्कालीन इन्जिनियर बृधन यादव र सब-इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ, कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई साथै भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि २५ लाख ५० हजार बिगो मागदाबी गरिएको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ कृष्णा उच्च माविको भवन निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । ४ कोठे आरसीसी भवन बनाउन लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख अनुदान र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ रुपैयाँ गरी ४५ लाख १० हजार ८९२ रूपैयाँमा काम गर्ने गरी सम्झौता भएको थियो ।

अख्तियारका अनुसार भवनमा कम गुणस्तरको निर्माण सामग्री प्रयोग गर्नुका साथै अहिले प्रयोगविहीन पाएको छ । तर, विद्यालयको निर्माण कार्यको जिम्मेवारी बहन नै नगरी विद्यालयको खातामा रोक्का रहेको रकम निकासा गर्न नापी किताब तथा मूल्याङ्कन प्रतिवेदन समेतमा हस्ताक्षर गरी २५ लाख ५० हजार रकम निकासा गरेको, फिल्डमा हुदै नभएको कार्य नापी किताबमा समावेश गरी ४१ लाख २० हजार ४२८ रकमको मूल्याङ्कन प्रतिवेदनलाई सदर गरेको र गुणस्तरहीन कार्य भएको भनी प्राविधिक प्रतिवेदनमा उल्लेख भएको पाइएको छ ।