वायुसेवा निगमले भूकम्पका घाइते र कुरूवासँग भाडा नलिने, राहत सामग्रीको ढुवानी पनि निःशुल्क गर्ने

नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र कुरुवाको हवाई भाडा निःशुल्क गर्ने निर्णय गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत घाइते र कुरुवाको भाडा नलिने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अुनसार नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामग्री ढुवानी निःशुल्क गर्ने निर्णय समेत निगमले गरेको छ । जहाजको क्षमता, ठाउँ उपलब्धताका आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्यूल उडानमा निःशुल्क ढुवानी गर्ने निर्णय भएको प्रवक्ता पौडेलद्धारा जारी गरिएकाे विज्ञप्तिमा जनाएको छ ।