विदेश पठाउने भन्दै ३७ लाख ठगेको आरोपमा ३ जना पक्राउ

विदेश पठाउने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ घर भएका ३६ वर्षीय रमेशकुमार डिसी, रोल्पाको गंगादेव गाउँपालिका–५ का ४१ वर्षीय जै बहादुर वली र मकवानपुरको थाहा नगरपालिका–२ का ३८ वर्षीय रबीन कार्की छन् ।

डिसीले सिंगापुर पठाउने भन्दै १ जनाबाट १० लाख ठगी गरेको आरोप छ । वलीले क्रोएसिया पठाउने भन्दै एक जनाबाटै ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । कार्कीले स्लोभाकिया पठाउने भन्दै २१ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका डिसी र वलीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ । कार्कीविरुद्ध भने प्रहरी वृत्त बौद्धमा मुद्दा रहेकाले बौद्ध प्रहरीकोमा पठाइएको छ ।