बराह सहकारी अपचलन मुद्दामा आठजना पुर्पक्षका लागि कारागार चलान

बराह ग्रुपअन्तर्गत सञ्चालित बराह बचत तथा ऋण सहकारीको १० अर्ब ७३ करोड अपचलन मुद्दामा पक्राउ परेका ११ मध्ये आठजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायको बिहीबारको इजलासले आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउन र तीनजनालाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

अदालतको आदेशसँगै नारायणी बराह ज्वेलरीका संस्थापक सेयरधनीसमेत रहेका सहकारीका सञ्चालक समिति सदस्य रवि पोर्तेल (सुनार), पूर्वसञ्चालक रिना राई, सञ्चालक सदस्य फूलकुमारी (फूलमाया) राई, नारायणी बराह ज्वेलरीका संस्थापक तथा सेयरधनी विक्रम गजमेर (विकास), सहकारी लेखा सुपरिवेक्षण संयोजक सुदिन विक, ऋण उपसमिति सदस्यद्वय अस्मिता भण्डारी र श्रीमान् महत क्षेत्री, लेखापाल अपना श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरीका अनुसार विक्रम डिल्लीबजार कारागार र अन्य तीन पुरुष सुनसरी कारागार झुम्का चलान भएका छन् । त्यस्तै, चार महिला भने महिला कारागार विराटनगर चलान भएका हुन् ।

त्यस्तै, सहकारी सञ्चालक समिति सदस्य विष्णुकुमारी तुलाधर तथा बराह ट्राभल्स एन्ड टुर्सका सरिता कालिकोटे विश्वकर्मा र जतनमाया विश्वकर्मालाई जनही पाँच लाख धरौटीमा छुट्ने आदेश भएको अदालत कार्यालयका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । धरौटीमा छुट्ने जतनमाया सहकारीका अध्यक्ष मानबहादुरकी पत्नी हुन् ।

सरकारी वकिलको कार्यालयले गत १५ फागुनमा व्यक्ति र पाँच कम्पनीसहित २६६ विरुद्ध सहकारी ठगी र संगठित अपराधमा सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अवैध रूपमा बराह ग्रुप अफ कम्पनीका १४ सहित ३१ कम्पनीमा लगिएको तथा कारोबार गरिएको र घरजग्गामा पनि लगानी गरिएको अभियोगपत्रमा उल्लेख छ  ।