विद्युत् महसुल घटाइने

 काठमाडौँ - सरकारले विद्युत्को आन्तरिक खपत बढाउनका लागि निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको  छ ।

आन्तरिक उत्पादन वृद्धि हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली दिन सकिने सरकारको ठहर छ । हाल २० युनिट बिजुली प्रयोग गर्ने उपभोक्ताले रु ३० मात्रै तिरे हुने व्यवस्था छ । 

यही व्यवस्थालाई टेकेर सरकारले २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत् महसुल नलाग्ने व्यवस्था गर्न लागेको हो । यसबाट कमजोर आय भएका वर्गले राहत पाउने विश्वास सरकारको छ ।

त्यस्तै ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने भएको छ। त्यसबाट आन्तरिकरूपमा बिजुलीको खपत बढ्नेछ।
त्यस्तै सिँचाइमा प्रयोग हुने विद्युत्मा वर्षायाममा ८० प्रतिशत र हिउँदयाममा २० प्रतिशत महसुल छुट दिने व्यवस्था गरिने साझा कार्यक्रममा समावेश छ । हाल सिँचाइमा प्रयोग हुने बिजुलीको महसुलमा सरकारले ५० प्रतिशत बराबरको छुट दिँदै आएको छ ।