सुनको मूल्यमा लगातार एकपछि अर्को नयाँ रेकर्ड, अब १ तोला किन्न १ लाख ४५ लाग्ने

सुनको भाउले आज (जेठ २५ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार पनि (जेठ २४ गते) सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट मार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै नेपाली बजारमा यसको भाउ उच्च बिन्दुमा पुगेको हो । सरकारले यसअघि कायम रहेको १५ प्रतिशत भन्सार दरलाई बजेटमार्फत ५ प्रतिशत बढाएर २० प्रतिशत पुर्याएको जनाएको थियो । 

पछिल्लो समय विश्व बजारमा पनि सुनको मूल्य उच्च रहेको छ । अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको गिरावट लगायतका कारण सुनको मूल्यमा प्रभाव परेको विश्लेषकहरुले तर्क गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ ।  आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय ५० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३८५.९१ डलर र चाँदी प्रतिऔंस ३१.५१ डलरमा कारोबार भइरहेको छ ।