गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार, साढे तीन करोडभन्दा बढी रकम अलपत्र

 काठमाण्डौँ - भद्रपुरको कृषि उत्पादनको व्यवस्थित भण्डारणका लागि भनेर १३ वर्षअघि निर्माण शुरू गरिएको शीत भण्डार कोल्ड स्टोरेज निर्माण पूरा नभई लथालिंग छाडेको कारण यतिखेर चौपाया राख्ने गौशालामा परिणत भएको छ । विसं २०६७ मा नेपालस्थित भारतीय दूतावासमार्फत्झापाको पुरानो नगरपालिका भद्रपुरमा १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोल्ड स्टोरेज बनाउनका लागि बजेट निकासा गरी काम शुरू भएको थियो ।

भारतीय दूतावासले अनुदानस्वरूप बजेट निकासा गरेपछि नगरपालिकाले टेन्डर आह्वान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य शुरू गरेको एक दशक पार गरिसकेको छ । तर, निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेमा पछिल्लो दुई वर्षयता शीत भण्डार बेवारिसे अवस्थामा रहँदा नयाँबजार क्षेत्रका गाई गोरू थुन्ने ठाउँ गौशालाका रूपमा परिणत भएको हो ।

निर्माण सम्झौता हुँदा कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा छ । जनप्रतिनिधि आएको आधा दशकभन्दा बढी समय भइसक्दा पनि अलपत्र संरचनातर्फ नगरपालिकाका जनप्रतिनिधिले चासो देखाएका छैनन् । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि एक वर्ष व्यतीत भइसकेको छ ।

कुल ४ करोड ७८ लाख ७३ हजार २ सय ५८ रुपियाँ ९० पैसाको अनुमानित लागतमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ४ करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपियाँ ९६ पैसामा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।