नोबेल पुरस्कार बिजेता डा. युनिस बंगलादेशको अन्तरिम सरकार प्रमुख चुनिए

नोबेल पुरस्कार बिजेता डा.  मुहम्मद युनिस बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् । प्रदर्शनकारीको चाहना बमोजिम युनिसलाई सरकार प्रमुख बनाइएको हो । राष्ट्रपति भवनमा भएको एक बैठकले युनिसलाई अन्तरिम सरकारको प्रमुख चुनेको निर्णय गरेको हो ।

राष्ट्रपतिसँगको बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखको सहभागिता थियो । गरिबी विरुद्ध लडेका कारण युनिसलाई नोबेल शान्ति पुरस्कार प्राप्त भएको थियो । ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।

उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मानिन्छन् । कुनै बेला युनुसले पार्टी खोल्ने तयारी समेत गरेका थिए । सोही कारण पनि हसिना युनुसप्रति आक्रामक हुने गर्थिन् । गत जनवरीमा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो ।