वायुसेवा निगम सुधारका नाममा मन्त्रीले बनाए आठौं समिति

काठमाडौँ - नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय सुधारका लागि भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति बनाएको छ । पर्यटनमन्त्री सुदन किरातीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा समिति बनाएका हुन् ।

निगमको सुधारका लागि भन्दै पछिल्लो दुई दशकयता गठन भएको यो आठौं समिति हो । अघिल्लो पटक योगेश भट्टराई पर्यटन मन्त्री हुँदा पनि समिति बनेको थियो । तर यस्ता अध्ययन समितिको प्रतिवेदनको कार्यान्वयन हुन सकेको छैन । बरु मन्त्रीपिच्छे नयाँ नयाँ समिति बनाउने र दराजमा थन्काउने प्रवृत्तिकै रुपमा देखिएको छ ।