मकवानपुर ट्रक दुर्घटना : मृतक तीनैजनाको पहिचान खुल्यो

मकवानपुर - मकवानपुरको मनहरी–३ नयाँबस्ती डिपाट गाउँमा दुई ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर ट्रकमा आगलागी हुँदा जलेर मृत्यु भएका तीनैजनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी  टेकबहादुर कार्कीका अनुसार जलेर ज्यान गुमाउनेमा चितवनको राप्ती नगरपालिका ८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, गोरखाको गण्डकी गाउँपालिका २ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र मकवानपुरको मनहरी ३ बस्ने २० वर्षीय अमृत प्रजा रहेका छन् ।

शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ । ट्रकको आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।

गएराति हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर दुवै ट्रक आगलागी भएको थियो ।