मिटरब्याजसम्बन्धी २४ हजार उजुरी, १ हजार ३ सय मिलापत्र

काठमाण्डोँ - मिटरब्याज पीडितले देशभर हालसम्म झन्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये आजसम्म १ हजार ३ सय ८५ वटा उजुरीमा मेलमिलाप भएको छ ।  

यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो । आयोगका एक सदस्य पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी उत्तमराज सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दासमेत रहेका छन् । यसअघि अदालतबाट पीडितका विरुद्धमा फैसला भएको भन्दै पीडितले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए । 

त्यस्ता मुद्दामा पनि मेलमिलाप गरिएको उनले बताए । उनका अनुसार पीडितहरूले अहिलेसम्म साहुको नाममा पुगेका ३० कित्ता जग्गा समेत फिर्ता पाइसकेका छन् । आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने उनले बताए ।

नेपाल सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धमा जाँचबुझ गर्न गत २० चैतको निर्णयअनुसार जाँचबुझ गठन गरेको थियो । 

आयोगले गत २७ वैशाखदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना भई कार्यसञ्चालन गरिरहेको छ । ४ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन भएको थियो । रासस