बाढी पहिरो तथा मनसुनजन्य विपद् : २३ दिनमा ३४ जनाको मृत्यु 

 काठमाडौँ - नेपालमा मनसुन भित्रिएको २३ दिनमा बाढी पहिरोको घटनामा ३४ जनाले ज्यान गुमाएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अनुसार २५ बेपत्ता छन् ।

राष्ट्रियविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार जेठ ३१ गतेदेखि हालसम्म बाढी पहिरोबाट ६४ जिल्ला प्रभावित हुँदा १९ जिल्लाका ३४ जनाले ज्यान गुमाएका हुन् । घाइतेमध्ये १५ जनाको हेलिकोप्टरबाट समेत गरी २१ को उद्धार गरिएको छ ।

राहत तथा उद्धारका लागि हालसम्म संघीय सरकारको तर्फबाट २० लाख नगद राहत वितरण भएको छ । त्यस्तै, काठमाडौंबाट ताप्लेजुङ, पाँचथर र संखुवासभामा २०० वटा त्रिपाल, ३४ वटा टेन्ट र १५० वटा ब्ल्याङ्केट पठाइएको छ ।

मनसुनजन्य घटनाहरुबाट ५४ घर पूर्ण रुपमा र २० घर आंशिक रुपमा क्षतिग्रस्त बन्दा २६४ पशु चौपायाको क्षति भएको छ । जसमा कुल ६ करोड १६ लाख बराबरको नोक्सानी भएको छ । त्यस्तै, ठूलो मात्रामा खेतीयोग्य जमिन र बालीनाली मासिएको छ ।