अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

चितवन - पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ ।

नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका ६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । तीन  एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे ।