राष्ट्रिय अनुसन्धान विभागका अधिकृत कै शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्धारा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत (गुप्तचर) माधव बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । उनले शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । अनुसन्धान हुँदा विभागका तत्कालीन अनुसन्धान अधिकृत बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ । 

उक्त शैक्षिक प्रमाणपत्र पेस गरी उनले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिइ बढुवा समेत भइ अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकाले उनको उक्त कार्य भ्रष्टाचारसँग जोडिएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।