अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोड झापाका तत्कालीन कर्मचारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चिया विकास निगम लिमिटेड बिर्तामोडका सिनियर एकाउन्टेट सञ्जय बिलोटिया, तत्कालीन लेखापाल मनिषकुमार कर्ण, तत्कालीन अफिस क्लर्क गुणराज श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल वेदबहादुर रानाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उनीहरूले विद्युत् प्राधिकरणलाई विद्युत् महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।
निगमबाट आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्म एक करोड ९३ लाख ६५ हजार छ सय ५१ रुपैयाँ भुक्तानी हुनुपर्नेमा उनीहरूको मिलेमतोमा दुई करोड ३३ लाख ५५ हजार तीन सय २९ रुपैयाँ भुक्तानी भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
बढी भुक्तानी भएको ३९ लाख ८९ हजार छ सय ७७ रुपैयाँ ७१ पैसा मध्ये सात लाख ३७ हजार तीन सय आठ रुपैयाँ ९२ पैसा असुल भइसकेको र बाँकी ३२ लाख ५२ हजार तीन सय ६८ रुपैयाँ ७९ पैसा चार जनाबाट असुल उपर गर्न अख्तियारले मागदाबी गरेको छ ।