हिजो सर्किट ब्रेकर लागेर बढेको बजारमा सोमबार इन्ट्रा डे कारोबारमा गिरावट आएको छ । सूचक घटे पनि कारोबार् रकममा भने भारी तेजी आएको छ । आइतबार बजार ६ प्रतिशतले बढेकाले नाफा बुक गर्नेहरु सक्रिय हुँदा सूचकमा गिरावट आएको अनुमान गरिएको छ । बढ्दो कारोबार रकमले बजारको आगामी दिन सकारात्मक हुँदै जाने अनुमान गरिएको छ ।
मौद्रिक नीति समीक्षामार्फत केन्द्रीय बैंक लचक भएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । मौद्रिक नीति समीक्षा सार्वजनिक भएपछि बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन् ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ । अब ब्याजदर घट्न थालेकाले कर्जा प्रवाह हुने र यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिने विश्लेषणहरु भइरहेका छन् । सेयर बजार सुधारमा पनि तरलता र घट्दो ब्याजदरले सहयोग पुर्याउने छ ।
सोमबार यो समाचार तयार पार्दासम्म (१ः १५ बजेसम्म) नेप्से सूचक करिब २५ अंकले घटेको छ भने सवा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।