मालपोत कार्यालय जलेश्वरका खरिदार र लेखनदास घुस रकमसहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी, जलेश्वरका खरिदार र लेखापढी व्यवसायी ३५ हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनीहरूलाई मंगलबार घुस लिइरहेको वेला पक्राउ गरेको हो।

अख्तियार टोलीले जलेश्वर नगरपालिका–६, निवासी २६ वर्षीय मुद्दा फाँटका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जलेश्वर नगरपालिका–७ वेलानिवासी जिवछ महतोलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रत्यक्षदर्शीका अनुसार टोलीले खरिदार दासको साथबाट तीन सय र लेखापढी व्यवसायी महतोको साथबाट ३५ हजार रकम बरामद गरेको छ। उनीहरूलाई अख्तियार टोलीले नियन्त्रणमा लिएर बर्दिवास गएको छ।