आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै

काठमाण्डौँ - बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह कन्टेनर फ्रेट स्टेसन निर्माण अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने उद्देश्यसहित मुलुकभरि आधा दर्जन सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको जानकारी दिए ।

उनले भने, “चीनसँग सिमाना जोडिएका पाँच र भारतसँग सिमाना जोडिएका एक ठाउँमा सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको छ ।’’ चीनतर्फ हुम्लाको यारी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङगोला, डोल्पाको तिन्जे धो र भारततर्फ महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको उनले जानकारी दिए ।

उनले भने, “बन्दरगाहका लागि प्रस्तावितमध्ये चार ठाउँको पूर्वसम्भाव्यता अध्ययन प्री–फिजिबिलिटी स्टडी सम्पन्न भइसकेको छ भने दुईवटाको अध्ययनका लागि कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा छ ।’’ उनका अनुसार कोरोला सुक्खा बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययन पूरा भई अहिले विस्तृत परियोजना प्रतिवेदन डीपीआरसमेत तयार भइरहेको छ ।

उनका अनुसार ताप्लेजुङको ओलाङ्चुङगोला, हुम्लाको यारी, महोत्तरीको जलेश्वर सुक्खा बन्दरगाह निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ भने डोल्पाको तिन्जे धो र सङ्खुवासभाको किमाथाङ्कामा प्रस्तावित बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययनका लागि कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा छ । अबको एक महिनाभित्र अध्ययन सुरु हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।